हारेको पैसाबारे सामाजिक सञ्‍जालमा विवाद : आईपीएलका सट्टेबाजको लहरो खुल्दै



Kantipur Daily

विराटनगर — हारेको रकमको विवाद सामाजिक सञ्जाल हुँदै प्रहरीसम्म पुगेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को सट्टेबाजीमा संलग्न अर्को गिरोहको खुलासा भएको छ । प्रहरीका अनुसार लहरो तान्दा पहरो गर्जे जस्तै भइरहेको छ । पटकपटक हारेको रकम बलजफ्ती असुल्न खोजिएपछि विराटनगरमा सट्टेबाजी खेल्ने/खेलाउने अर्को समूह पत्ता लागेको मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए । सुरुमा सामान्य लेनदेन विवाद लागे पनि अनुसन्धान अगाडि बढाउँदै जाँदा सट्टेबाजीको ठूलै समूहको पोल खुलेको उनले बताए ।

‘यसको धेरै ठूलो सञ्जाल छ, जसको बारेमा अहिले नै म पूरा विवरण दिन सक्ने अवस्थामा छैन,’ उनले भने, ‘यसमा धेरै मान्छे तानिन्छन्, अनुसन्धान पूरा भएपछि यसमा को–को पक्राउ पर्छन्, हेर्दै जाऔं ।’

विराटनगरको पिचराबासी युवा नेता रोनाल कँडेलको समूहले आईपीएलको सट्टेबाजीमा हारेको झन्डै १५ लाखमध्ये ८ लाख रुपैयाँ असुल्नलाई पिन्टु भन्ने सञ्जय सिंघललाई धम्क्याएको प्रहरीले जनाएको छ । प्रहरीका अुनसार सिंघल स्वयंले घटनाको विवरण खुलाउँदै असोज २४ मा फेसबुकमा लेखे ।

धेरै रकम कमाउने भनेर कँडेल सट्टेबाजीमा लागेको र यसै क्रममा उनी क्रिकेटका जानकार व्यावसायिक घरानाका सिंघलसँग सम्पर्कमा आएर सट्टेबाजी खेल्न थालेको प्रहरीले जनाएको छ ।

Read More
  • Financial Notices