नेपाल बैङ्कको बोर्डको संरचना परिवर्तन



Gorkha Patra

काठमाडौं, असोज २० गते । नेपाल बैङ्क लिमिटेडमा सरकारका तर्फबाट मनोनयन हुने सञ्चालक घट्ने र सर्वसाधारण सेयरधनीका तर्फबाट निर्वाचित हुने सञ्चालक थप हुने भएका छन् । सोमबार सम्पन्न उक्त बैङ्कको विशेष साधारण सभाले सञ्चालकको प्रतिनिधित्व सम्बन्धी व्यवस्थामा संशोधन गरेको हो ।

नेपाल बैङ्क लिमिटेड प्रधान कार्यालयबाट र भिडियो कन्फ्रेन्स÷वेबिनारमार्फत आयोजना गरिएको विशेष साधारण सभाले नेपाल सरकारबाट मनोनित हुने चार जना सञ्चालकबाट घटाई तीन र सर्वसाधारण सेयरधनीको तर्फबाट निर्वाचित हुने दुई सञ्चालकबाट वृद्धि गरी तीन कायम गर्न नियमावलीको सम्बन्धित दफामा संशोधन गरेको छ । साथै, बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम हुने गरी प्रबन्धपत्र तथा नियमावलीलाई समयानुकूल अद्यावधिक गर्न प्रबन्धपत्र तथा नियमावलीका अन्य व्यवस्थामा संशोधन÷थपघट गर्ने प्रस्ताव पनि सभाले पारित गरेको जनाइएको छ । साथै, बैङ्कको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ ।

Read More
  • Financial Notices