१४ असोज, काठमाडौं । धौलागिरि माइक्रोफाइनान्सका निमित्त प्रमुख कार्यकारी अधिकृत शिवराम जोशी निलम्बनमा परेका छन् । कर्मचारीलाई अनावश्यक दवाव दिएर जागिर छाड्न बाध्य बनाएको उजुरी परेपछि निमित्त सीईओ जोशीलाई संस्थाको सञ्चालक समितिले निलम्वन गरेको हो ।
संस्थाको नेतृत्वमा पुगेपछि जोशीले कर्मचारीहरुलाई अनावश्यक तनाव दिने गरेको आरोप लागेको थियो । केही समयअघि उनले एक म्यानेजरलाई राजीनामा दिन दबाब दिएका थिए । आफूलाई बिना कारण राजिनामा दिन दवाव दिइएको भन्दै ती म्यानेजरले सञ्चालक समितिमा उजुरी दिएका थिए । उजुरीको बोद्धार्थ राष्ट्र बैंकमा समेत पुगेको छ ।
विवाद कर्मचारी–कर्मचारी बिचको भए पनि राष्ट्र बैंकमै पुगेपछि निलम्वन गरेर छानविन शुरु गरिएको संस्थाका अध्यक्ष ईश्वरलाल राजभण्डारीले जानकारी दिए । उनका अनुसार यस विषयमा छानविन गर्न सञ्चालकद्वय हरिप्रसाद शर्मा र सिर्जना थापा रहेको समितिलाई जिम्मा दिइएको थियो । उक्त समितिको सिफारिसअनुसार कम्तीमा ४५ दिन निलम्वनमै रहने र त्यसपछिमात्रै पुनर्बहाली हुने वा नहुने थाहाँ हुने अध्यक्ष राजभण्डारीले बताए ।
‘अन्य कर्मचारी भए डीसीओले नै छानविन गर्नुहुने थियो तर निमित्त सीईओको नै विवादमा मुछिएपछि ४५ दिनका लागि उहाँ (जोशी) लाई निलम्वन गरिएको हो’ उनले भने, ‘अहिले थप छानविन भइरहेको छ, छानविन पछि मात्रै उहाँ रहने वा नरहने थाहा हुन्छ ।’ ...