आरम्भ चौतारी लघुवित्त (ACLBSL) ले एफपीओ जारी गर्ने भएको छ। नेप्सेमा सूचीकृत आरम्भ चौतारी र आईपीओ निष्काशन गर्न बाँकी रहेको सिवाईसी नेपाल लघुवित्त र शालिग्रम लघुवित्तसँग मर्जरपश्चात एफपीओ जारी गर्ने भएको हो।
यी तीन लघुवित्तले गत शुक्रबार अथार्त असाेज ९ गते मर्जर सम्बन्धि सम्झाैतापत्रमा हस्ताक्षर गरेका थिए। हाल आरम्भ चौतारीको लघुवित्त वित्तीय संस्थाको चुक्ता पूँजी २६ करोड ३४ लाख ४८ हजार रुपैयाँ छ। यस्तै, सिवाईसी नेपालको ७ करोड र शालिग्राम लघवित्तको एक करोड ६८ लाख १७ हजार गरी जम्मा चुक्ता पूँजी ३५ करोड २ लाख ६५ हजार रुपैयाँ कायम हुनेछ।
सिवाईसी नेपाल र शालिग्राम नेपालले हालसम्म सर्वसाधारणको लागि आईपीओ निष्काशन गरेका छैनन्। सर्वसाधारणको लागि छुट्टाएको शेयर एफपीओ निष्काशन गरेर पुरा गर्नेछ। संस्थापक तथा सर्वसाधारणको शेयर अनुपात ७०ः३० कायम हुनेगरी शेयर संरचना मिलाउने सम्झौता पत्रमा उल्लेख छ।
मर्जरमा जाने भएपछि आरम्भ चौतारी शेयर काराेबार आज आइतबारदेखि राेक्का भएकाे छ। मर्जर सम्बन्धी सम्पुर्ण कार्य माघ भित्रै सम्पन्न गर्न तयारी छ।
सम्झौता अनुसार आरम्भ चौतारी र सिवाईसी नेपालबीच एक बराबर एक स्वाप रेसियो कायम गरीएको छ। तर, शालिग्राम लघुवित्तसंग भने १०० को अनुपातमा ८५ कायम हुनेगरी सम्झौता भएको छ।
आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट वितरण योग्य लाभांशलाई तीन संस्थाको संयुक्त कारोबार पश्चात् बस्ने साधारण सभाबाट घोषणा गरे बमोजिम तीनै संस्थाका शेयरधनीहरुलाई समानुपातिक वितरण गरिने जनाएको छन्।
तीनवटै लघुवित्त मर्जरमा गएपछि बन्ने वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय आरम्भ चौतारीको केन्द्रिय कार्यालय रहेको बनेपामा रहनेछ। यस्तै नयाँ बन्ने लघुवित्तको लोगो सिवाईसी नेपालले हाल प्रयोग गरीरहेको हुनेछ।