कोरोना नियन्त्रण कोषबाट १ अर्ब अनुदान



Karobar Daily

कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट हालसम्म १ अर्ब रुपैयाँँ अनुदान वितरण गरिएको छ । कोषबाट ६४९ स्थानीय तह, ९ अस्पताल र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई सो अनुदान दिने निर्णय गरिएको हो । संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिको भदौ २१ मा बसेको एघारांै बैठकले कोरोनाको उपचार गरिरहेका अस्पताललाई मात्र २८ करोड रुपैयाँभन्दा बढी अनुदान दिने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।


प्रचलित कानुन एवम् स्वीकृत मापदण्डबमोजिम भुक्तानी गर्ने, लेखा राख्ने, लेखापरीक्षण गराउने र सोको प्रतिवेदन समेत गर्ने गरी अस्पताल तथा परिषदलाई कोषवाट निकासा गर्ने निर्णय गरेको छ । जाजरकोटको चौरजहारी अस्पताल र दैलेख अस्पताललाई स्वास्थ्य उपकरण खरिद तथा ल्याब व्यवस्थापनको प्रतिअस्पताल ५० लाखका दरले १ करोड रुपैयाँ अनुदान दिने निर्णय भएको छ । यसैगरी शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसवारीलाई कोभिड १९ सँग सम्बन्धित उपकरण खरिद गर्न १ करोड रुपैयाँ दिने निर्णय गरेको छ ।

Read More
  • Financial Notices