कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि गत चैत ११ गतेदेखि मुलुक लकडाउन छ। यस्तो समयमा चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्ने पहिलो वाणिज्य बैंक बनेको छ, सिटिजन्स बैंक इन्टरनेशनल (CZBIL)।
बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्यसम्ममा १ अर्ब ९ करोड १२ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ करोड १६ लाख ४४ हजार रुपैयाँ बढी हो। बैंकले गत आर्थिक वर्षको यसै अवधिसम्ममा १ अर्ब ६ करोड ९६ लाख १ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
मुलुकमा कायम लकडाउनले बैंकको वित्तीय अवस्थालाई सो अवधिसम्ममा खासै फरक नपरेको देखिन्छ। गत आर्थिक वर्षको तेस्रो त्रैमास (माघदेखि चैतसम्म) मा २९ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको यस बैंकले चालु आवको सोही तीन महिनाको अवधिमा ४० करोड ३५ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।








