‘बैङ्क र व्यवसायीबीच दोषारोपण होइन, एकता आवश्यक’



Online Khabar

८ वैशाख, काठमाडौं । कोरानाले समस्या ल्याएको भन्दै नेपाल राष्ट्र बैङ्कले ऋणीका लागि सहुलियतको प्याकेज अघि सार्‍यो । त्यसबमोजिम चैतको किस्ता र ब्याज असारमा तिर्न सकिने तथा चैतमै तिरे ब्याजमा १० प्रतिशत छुट दिने व्यवस्था भएको छ ।

राष्ट्र बैङ्कले ल्याएको सहुलियतलाई उद्योगी-व्यवसायीहरूले अपूरो भनिरहेका छन् । तर, एनआइसी एशिया बैङ्कले राष्ट्र बैङ्कको सहुलियतभन्दा पनि अघि बढेर चैत र वैशाखमा सबै प्रकारका कर्जाको साधारण ब्याजमा १० प्रतिशत छुट तथा हर्जनामा शतप्रतिशत छुट दिने घोषणा गरेको छ ।

एनआईसी एसिया देशकै उत्कृष्ट बैङ्कको सुचीमा पर्छ । देशकै सबैभन्दा बढी तीन सय १९ शाखाको सञ्जाल, ग्राहक संख्या २१ लाखभन्दा बढी, ३६ सयभन्दा बढी कर्मचारी, दुई खर्ब ३० अर्बभन्दा बढीको वासलात र अधिकांश वित्तीय परिसूचकहरूमा यो बैङ्क अग्रणी छ ।

एनआइसी एसिया बैङ्क‍को कार्यकारी नेतृत्व अहिले युवा बैङ्कर रोशनकुमार न्यौपानेले गरिरहेका छन् । न्यौपाने नेपालकै कान्छा सीईओसमेत हुन् । विगत १२ वर्षदेखि उनी यही बैङ्कमा छन् । लकडाउनका बेला बैङ्क आएर काममा जुटिरहेका भेटिन्छन् उनी । आइतबार हामी थापाथलीस्थित बैङ्कको प्रधान कार्यालय पुग्दा उनी काममै व्यस्त थिए ।

न्यौपानेसँग हामीले उनको बैङ्क र नेपालको समग्र बैङ्किङ क्षेत्रमा कोरोनाले पारेको प्रभावका विषयमा केही जिज्ञासा राख्यौँ–

लकडाउनपछि अधिकांश आर्थिक गतिविधिहरू ठप्प प्रायः छन्, यो अवस्थालाई कसरी हेर्नुभएको छ ?

कोरोना भाइरसको महामारीले गर्दा नेपालमा मात्रै होइन, विश्वभरि नै संकट उत्पन्न भएको छ । यसले स्वाभाविक रुपमै विश्वभरको अर्थतन्त्रमा प्रतिकूल असर पारेको अवस्था छ । यो असरलाई सन् १९३० को विश्वव्यापी आर्थिक मन्दी (दि ग्रेट डिप्रेसन–१९३०)सँग समेत केही विज्ञहरूले तुलना गरेका छन् । यसको चौतर्फी असर निकै दूरगामी र गहिरो रहन सक्छ ।

कोरोनाको असरले आव २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर १.८ देखि २.५ प्रतिशतमा खुम्चिने विश्व बैङ्कले प्रक्षेपण गरिसकेको छ । महामारी अझै कति समय लम्बिने हो भन्ने आकलन गर्न सकिने अवस्था नभएकोले अहिलेको अझै कति क्षति हुन्छ भन्न सकिँदैन ।

यो संकटले नेपालको बैङ्किङ क्षेत्रलाई चाहिँ कस्तो असर पार्ला ?

 

Read More
  • Financial Notices