सहकारी बैंकबाट दुई दिनमा झिकियो झन्डै एक अर्ब



Kantipur Daily

आइतबारदेखि सहकारी बैंकका प्रदेश कार्यालय पनि खुल्ने

काठमाडौँ — गत आइतबार र सोमबार मात्र राष्ट्रिय सहकारी बैंकबाट सहकारी संस्थाले करिब एक अर्ब रुपैयाँ झिकेका छन् । लकडाउनको समयमा नगद व्यवस्थापनका लागि दुई दिनमा सहकारी संस्थाले उक्त रकम झिकेका हुन् ।

हरेक दिन कार्यालय खुला रहे पनि सोमबारपछि कुनै कारोबार नभएको राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईंले जानकारी दिए । 
‘साताका सुरुका दुई दिनमा आवश्यक नगद झिकिसकेकाले त्यसपछि कारोबार नभएको होला,’ उनले भने, ‘सहकारी संघसंस्थाले तरलता व्यवस्थापन गरिरहेका छन् ।’ 
राष्ट्रिय सहकारी बैंक सहकारी संघसंस्थाको बैंक हो । नेपालमा एक मात्र यस्तो बैंक छ । यसले मुलुकभर वित्तीय सेवा दिँदै आएको छ । 
कारोबारका लागि सहकारी संस्था नआए पनि हरेक दिन कार्यालय खुला नै रहेको उनले बताए । 

‘आलोपालो गरेर कर्मचारी व्यवस्थापन गरी कार्यालय चलाएका छौं,’ उनले भने, ‘पैसा भएन भनेर कुनै सहकारी संस्थाले डराउनु पर्दैन ।’ आइतबार देखि राष्ट्रिय सहकारी बैंकले सेवा झनै प्रभावकारी बनाउन लागेको गुरागाईले जानकारी दिए । ‘आइतबारदेखि सबै प्रादेशिक कार्यालय सञ्चालन गरिनेछ,’ उनले भने, ‘रकम आवश्यक परेका सहकारीले बैंकका प्रदेश प्रमुखसँग प्रत्यक्ष सम्पर्क गरी नगद व्यवस्थापन गर्न सक्छन् ।’

...

Read More
  • Financial Notices