आर्थिक क्षेत्रमा कोरोना प्रभाव, के भन्छन् विज्ञ



Naya Patrika

प्रभावित क्षेत्रलाई प्याकेजमा राहत दिनुपर्छ : डा. रामशरण महत (पूर्वअर्थमन्त्री )

 

यतिवेला नेपालको मात्रै होइन, विश्वकै अर्थतन्त्रमै मन्दी आउँदै छ । सबै प्रकारका आर्थिक गतिविधि रोकिएको छ, आम्दानीका स्रोतहरू रोकिएको छ, उद्योगधन्दाहरू बन्द हुँदैछन्, आयात–निर्यातमा सीधा असर परेको छ, धेरैको रोजगारी गुम्ने खतरा बढेको छ । पर्यटन क्षेत्रको अवस्था झन् धराशायी भएको छ । 

आजसम्म कुनै रोगका कारण विश्वकै अर्थतन्त्रमा सीधा असर गरेको अनुभव गरेको थिइनँ । सन् १९०८ मा स्पेन फ्लुको नाममा धेरैको निधन भएको थियो । यो रोगका कारण मानवीय क्षतिसँगै अर्थतन्त्रमा ठूलो असर पार्ने देखिएको छ । नेपालको अर्थतन्त्र पनि समस्या आउँछ । नेपाल आउन चाहने नेपालीलाई भने सरकारले विशेष व्यवस्था गरेर नेपाल ल्याउन आवश्यक छ । 

सरकारले अहिले गर्नैपर्ने काम भनेको संक्रमणबाट नेपाललाई जोगाउने, नागरिकलाई मृत्यु हुनबाट बचाउने हो । नागरिकस्तरमा सचेतना बढाउने काम भने भएको छ । हात धुने, माक्स लगाउने कुराहरू गाउँ–गाउँसम्म पुगेको छ । यो सकारात्मक पक्ष हो । अब नेपाललाई प्रमुख चुनौती भनेको रोगसँगै अर्थतन्त्र जोगाउने हो । उद्योगधन्दाहरूमा बचाउनका लागि सरकारले राहतको घोषणा गर्न आवश्यक छ । दैनिक रोजगारी गरेर खानेहरूलाई सरकारले तत्काल सम्बोधन गर्न आवश्यक छ । सरकारले ल्याउने आर्थिक प्याकेजमा सबैलाई एउटै डालोमा हाल्नेभन्दा पनि असर गरेको क्षेत्रहरूको सूची बनाएर ब्याज र किस्ताका विषयमा तत्काल सम्बोधन गर्न आवश्यक छ ।

आर्थिक गतिविधि ठप्प भएपछि व्यवसायीको आम्दानी गुमेको छ । आम्दानी नभए पनि पछि ब्याज तिर्न समस्या पर्ने भएकाले सरकारको पहिलो काम राहत घोषणा नै हो ।  अहिले आएर नेपालमा डिजिटल अर्थतन्त्रको टड्कारो अवश्यकता देखिएको छ । जुन सकारात्मक छ । विगतदेखि नै केही सुधारहरू भएका थिए । अब भुक्तानी प्रणाली तथा प्राविधिकसँग जोडिएको अर्थतन्त्रका लागि अबको युग भनेको डिजिटल नै हो । 

डिजिटल अर्थतन्त्रको प्रभाव बढ्छ : सुरेन्द्र पाण्डे (पूर्वअर्थमन्त्री )

 

कोरोनाको प्रभाव अर्थतन्त्रमा देखिसकेको छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्यसाथ घोषणा गरिएको पर्यटन वर्ष २०२० स्थगित भयो । होटेलहरू खाली छन्, यातायात बन्द भएका छन् । कर्मचारी र कामदार प्रत्यक्ष मारमा परिसकेका छन् । मानिसको दैनिकी परिवर्तन भएको छ । व्यक्तिको आम्दानी घटिरहेको छ । विकास निर्माणको काम पनि ठप्प छ । यसले पनि पुँजी निर्माण हुने क्रम घटायो । नाका ठप्प हुँदा आयात–निर्यातमा बाधा पुगेको छ । यसले राजस्वमा पनि असर पुग्दै छ । हाम्रो अर्थतन्त्रको आकार ३४ खर्बको छ । यसको १ देखि ३ प्रतिशतसम्म क्षति पुग्ने अनुमान छ । 

अहिले हामीले गर्न सक्ने भनेको सचेतना र सेल्फ क्वारेन्टाइनमा बस्ने हो । संसारभर नै लक डाउन गर्ने क्रम चलिरहेको छ । चीन पनि यसरी नै सफल भयो । संसारभर नै कुनै न कुनै समयमा संकट आउँछ । त्यसपछि अवसर पनि आउँछ । सधैं संकट नै भएर रहँदैन । संकटले अवसर पनि ल्याउँछ । संकटले सबैलाई एक भएर लड्न र एउटै प्रयास गर्न सहयोग पुर्‍याउनेछ । 

विश्वव्यापीकरणमा यसले सकारात्मक भूमिका खेल्न सक्छ र त्यसबाट नेपालले पनि लाभांश लिन सक्छ । संकटपछि सबै क्षेत्रमा माग बढ्ला, त्यसवेला धेरै उत्पादन गरेर हाम्रो अर्थतन्त्रलाई बलियो बनाउन सक्ने सम्भावना पनि रहन्छ । यो संकट आउनुअघि पनि संसार डिजिटल अर्थतन्त्रतर्फ अघि बढिरहेको छ । यसले अझ त्यसतर्फ जान प्रेरित गरेको छ । पछिल्लोपटक चीनमा कोरोना भाइरस नियन्त्रणका लागि पनि विभिन्न एप्सको प्रयोग गरेको समाचार आएको छ । यसकारण डिजिटल विकासले स्वाभाविक रूपमा अर्थतन्त्रमा पनि आफ्नौ हिस्सा बढाउँदै लगेको देखिन्छ । अब रोबोटबाट उद्योग सञ्चालन गर्ने, अन्य काम गर्ने समय आउने देखिन्छ । त्यसका नराम्रा असर पनि होलान् । तर, डिजिटल अर्थतन्त्रको प्रभाव अझ बढ्ने निश्चित छ । 

नियन्त्रणमा गरिने लगानीबाटै अर्थतन्त्रको बचावट : डा. प्रकाशचन्द्र लोहनी (पूर्वअर्थमन्त्री)

 

नेपाली अर्थतन्त्रलाई नेतृत्व गरिरहेका पर्यटन, यातायात, स्वास्थ्य, शिक्षाजस्ता क्षेत्रहरूमा शिथिलता आउने भएको छ । पर्यटनमा त गम्भीर असर पर्ने देखिएको छ । त्यस्तै, कृषिसँग सम्बन्धित व्यवसाय तथा उद्योगहरूलाई पनि असर पर्छ । करिब २०–२५ प्रतिशत पुँजीगत खर्च गर्दै आएको सरकारले अब झन् खर्च बढाएर रोजगारी सिर्जना गर्ने सम्भावना छैन । आफ्नो अक्षमतालाई अब कोरोना बहाना पाउन सक्छन् ।  नेपालमा विदेशी विनिमयको सञ्चिति राम्रो हुनुको कारण वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाउने रेमिट्यान्स हो ।

तर, संक्रमण अझै ३ महिना चल्यो भने वैदेशिक रोजगारी कटौती हुन सक्छ । त्यस्तो अवस्थामा नेपाली कामदारलाई फर्काउन थाल्नेछन् । वैदेशिक मुद्राको सञ्चितिको अवस्था कमजोर बन्छ । त्यस्तो अवस्थामा अन्तिर्राष्ट्रिय व्यापारमै समस्या पर्न सक्छ ।  संक्रमणको जोखिम रोक्न सरकारले आवागमन बन्द, यातायात बन्द, कार्यालय, विद्यालय बन्दजस्ता आदेश दिएर राम्रो गरेको छ । तर, सिर्जनात्मक काम कम गरेको छ । आइसोलेसन वार्डहरू बनाउने, उपचारका लागि चिकित्सक, बिरामी, बिरामी लैजाने मानिस, बिरामी बोक्ने विशेष बाहन, परिवारका सदस्यहरूजस्ता हरेक पक्षले कसरी काम गर्ने भन्ने विषयमा सरकारले अहिलेसम्म प्रोटोकल तयार पारेको मैले देखेको छैन । 

...

Read More
  • Financial Notices