बीमा संस्थानको कोषमा रु २६ अर्ब, बीमक ७ लाख



Rato Pati

काठमाडौं । राष्ट्रिय बीमा संस्थाले ५३ औँ वार्षिकोत्सवसम्म आइपुग्दा संस्थान जीवन बीमा कोषमा रु २५ अर्ब ९६ करोड पुगेको छ । मुलुकमा स्थापित १९ वटा जीवन बीमा कम्पनीका बीचमा संस्थाले बीमा कोष र बीमा शुल्क सङ्कलन क्रमशः १० प्रतिशत र १२ प्रतिशत हिस्सा ओगटेको छ ।

चालू आर्थिक वर्षको प्रथम अर्धवार्षिकको अन्त्यसम्ममा १९ जीवन बीमा प्रदायकको जीवन बीमा कोषमा रु दुई खर्ब ६५ अर्ब ७१ करोड सङ्कलन भएको छ । विसं २०२४ फागुनदेखि निर्जीवन र त्यसको पाँच वर्षपछि जीवन बीमा शुरु गरेको संस्थानले कानूनी अड्चनका कारण २०७१ सालपछि जीवन बीमा मात्र गर्दै आएको छ । संस्थामा हाल बीमा गर्नेको सङ्ख्या छ लाख ८९ हजार छ ।

केन्द्रीय कार्यालयसहित मुलुकका १४ स्थानमा रहेका शाखा कार्यालयमा १०३ कर्मचारी कार्यरत रहेको आज आयोजित वार्षिकोत्सव समारोहमा जानकारी दिइयो । यसै आवभित्रै थप १० शाखा विस्तार गर्ने संस्थानको तयारी छ । संस्थानले अभिकर्तालाई उत्प्रेरित गर्न पुनर्ताजगी र प्रोत्साहन कार्यविधिलाई परिमार्जन गरी कार्यान्वयनमा ल्याएको जानकारी दिएको छ । सेवालाई प्रविधिमैत्री, भरपर्दो र सहज तुल्याउन यसै आवदेखि नयाँ सफ्टवेर, मोबाइल एप्स, एसएमएस सेवा र वबेसाइटलाई व्यवस्थित गरिएको संस्थानले जनाएको छ ।

Read More
  • Financial Notices