काठमाडौं : नेपाल धितोपत्र बोर्डमा यतिबेला आइपीओ अनुमति माग्ने कम्पनीहरुको संख्या १७ पुगेको छ । यी कम्पनीले ६ अर्ब ६३ करोड २० लाख ५९ हजार ६ सय रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेका हुन् । पाइपलाइनमा रहेका सबै कम्पनीलाई बोर्डले आइपीओ जारी गर्ने अनुमति दिएमा कुल ६ करोड ६३ लाख २० हजार ५ सय ९६ कित्ता सेयर दोस्रो बजारमा थपिनेछ । धितोपत्र बोर्डसँग आइपीओ निष्कासनका लागि अनुमति माग्नेमा अधिकांश कम्पनीहरु जलविद्युत समूहका रहेका छन् । पाइपलाइनमा रहेका १७ मध्ये १० वटा जलविद्युत् कम्पनी रहेका छन् ।
यो समूहको मात्रै ३ अर्ब ८८ करोड ४९ लाख ३२ हजार रुपैयाँ बराबरको आइपीओ पाइपलाइनमा छ । त्यस्तै, ३ कम्पनी अन्य समूह अन्तर्गतका रहेका छन् । यी कम्पनीहरुको पनि ६४ करोड १६ लाख २७ हजार ६ सय रुपैयाँ बराबरको आइपीओ निष्कासन हुने तयारी रहेको छ । साथै, एउटा बैंक, एक पुनर्बिमा कम्पनी, एक मर्चेन्ट बैंक र एउटा लघुवित्त कम्पनी पनि आइपीओ जारी गर्नका लागि धितोपत्र बोर्डको पाइपलाइनमा रहेका छन् ।