मितेरीको अधिकांश सूचकमा सुधार



Mero Lagani

मितेरी डेभलपमेन्ट बैंक लिमिटेड (MDB) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको प्रगतिउन्मुख वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको नाफा गत आर्थिक वर्षको तुलनामा बढेको छ।


बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ८ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १ करोड ६५ लाख रुपैयाँ बढी हो। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ६ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५८ लाख ८५ हजार रुपैयाँ बढेर १३ करोड ४४ लाख २७ हजार पुगेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा २ करोड ३७ लाख ४ हजार रुपैयाँ बढेर ११ करोड ९२ लाख ९० हजार पुगेको छ।

खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ७९ पैसा बढेर २८ रुपैयाँ ५५ पैसा कायम भएको छ। त्यसैगरी, बैंकको प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ २३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १०.१२ गुणा रहेको छ।

Read More
  • Financial Notices