२३ वर्षपछि शेयरधनीहरुलाई लाभांश वितरण गरेको नेपाल बैंक (NBL) लाई शेयरधनीहरुले खराव कर्जा असुलीमा ध्यान दिन सुझाव दिएका छन्। बैंकको पुस २५ गते नेपाल एपिएफ क्लब हलचोकमा सम्पन्न ६० औं वार्षिक साधारण सभामा शेयरधनीहरुले यस्तो सुझाव दिएका हुन्।
बैंकले पछिल्ला वर्षहरुमा खराव कर्जा घटाउँदै लगेपनि अझै घटाउनुपर्ने सुझाव लगानीकर्ताकाे छ। खराव व्यवस्थापनका कारण निष्कृय कर्जाले थिचिँदा बैंकले २२ वर्षसम्म आफ्ना शेयरधनीलाई लाभांश बितरण गर्न सकेको थिएन।
खराव कर्जा असुलीमा ध्यान दिए आगामी बर्षहरुमा बैंकले राम्रै लाभांश वितरण गर्न सक्ने शेयरधनीहरुको बिश्वास छ। उनीहरुले लाभांशलाई समेत दिगो बनाउन सुझाव दिएका थिए। उनीहरूले आगामी वर्षहरुमा लाभांश दरलाई नघटाउन खवरदारी गरेका छन् ।
त्यस्तै बैंकले स्प्रेड दर, बेस रेट लगायतका सूचकहरुमा राम्रो सुधार गर्दै लगेपनि खुद ब्याज आम्दानी घटेकोमा शेयरधनीहरुले आपत्ति जनाएका छन्। उनीहरूले प्रतिशेयर आम्दानीमा समेत सुधार गर्न सुझाएका छन्।
बैंकका अध्यक्ष बासुदेव अधिकारीले बैंकले खराव कर्जा घटाउन प्रयत्न गरिरहेको जानकारी दिए। राष्ट्र बैंकले स्प्रेड रेट र बेस रेट घटाउनुपर्ने निर्देशन दिएका कारण खुद ब्याज आम्दानी घटेको अधिकारीकाे भनाइ छ। यी सूचकहरुमा सुधार गर्न बैंकले प्रयत्न गरिरहेको बिश्वास अधिकारीले सभामा दिएका छन् । साधारण सभाले २३ वर्षपछि शेयरधनीहरुलाई १५ प्रतिशत बोनश शेयर र १० प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ।








